नेपालमै पहिलोपटक एकैसाथ चार बच्चाको जन्म, आमा र बच्चाको अवस्था कस्तो छ ?(भिडियोसहित)

वीरगञ्ज । पर्सामा एक महिलाले चार सन्तानलाई जन्म दिइन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ४ जयमंगलापुरकी २० वर्षीय नाज्मा खातुनले गत १० बैशाख जन्म दिएकी हुन् । अहिले ति शिशुहरु वीरगंज हेल्थकेयर अस्पतालमा चिकित्सकहरुको निगरानीमा छन् । अवस्था संवदेनशील भएकाले उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको छैन । उनीहरुलाई अतिसंवदेनशील कक्षमा राखिएको छ ।

बच्चाकी आमा नाज्मा र २४ वर्षीय सलिम खातुन अस्पतालमै छन् । सुत्केरी नाज्माको अवस्था कमजोर बनेको छ । नाज्माले डेलिभरी महिना नपुग्दै तीन छोरी र एक छोरा जन्माएकी हुन् । ७ महिनामै नाज्माको डेलिभरी भएको अस्पतालकी डा. भूमिका अधिकारीले जानकारी दिइन् ।

ज्यालादारीमा काम गर्दै परिवार पाल्दै आएका सलिम बच्चा र श्रीमतीको अवस्था देखेर चिन्तामा छन् । गर्भ बसेको पाँच महिनापछि पेटमा चार वटा बच्चा रहेको थाहा भएको नाज्मा बताउँछिन् । ‘कमजोरी भएपछि जँचाउन अस्पताल गएको थिएँ, त्यहिबेला पेटमा चार वटा बच्चा रहेको थाहा भयो’, नाज्माले भनिन् ।

अहिले चार शिशुको जन्मपछि यो दम्पति थप चिन्तित बनेको छ । कमजोर आर्थिक अवस्थाले अस्पतालको दैनिक खर्चदेखि खानपानमा समस्या भइरहेको उनीहरु बताउँछन् । श्रीमतीको पेटमा चार वटा बच्चा रहेको थाहा पाएपछि सलिम कमाउन बाग्लुङ गएका थिए । घर निर्माणमा हेल्फरको काम गर्दै आएका उनले मासिक २१ हजार कमाउथे ।

‘जेठमा डेलिभरीको डेट थियो, दुई महिना बाँकी छ भनेर सुत्केरी खर्च जुटाउन कमाउन गएको थिएँ तर, अचानक त्यो भन्दा अघि नै बच्चा भएको खबर आयो’, सलिमले भने । अहिले पैसा अभावमा आफूले एक छाक मात्र खाएर श्रीमतीलाई पौष्टिक आहार र खानाको जोहो गरिरहेको उनले बताए । ‘डिस्चार्ज भएपछि घर लैजान्छौं, पैसा त छैन, म पनि काम छोडेर आएको छु, अब सहयोग, भिख मागेरै भएपनि पनि यिनीहरुलाई पाल्नुपर्ला’, सलिमले भने ।

सलिम र नाज्माको घरमा पुग्दा अवस्था दयनीय थियो । सलिमको परिवारको अवस्था कमजोर रहेको भन्दै त्यहाँका स्थानीयले सहयोगको अपिल गरे । छिपहरमाई गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शिव साह कानुले सलिम दम्पतिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अवस्था बुझेर हामी सहयोग गर्छौं, आवश्यक पर्यो भनेर शिशुहरुलाई दुध पिलाउन एउटा गाई नै किनेर दिन्छौं’, उनले भने ।

Similiar Post