न्याय दिन्छु भन्थ्यौ, पागल बनाई छाड्यौ लाचार दुई तिहाई सरकार।

विगत चार महिना देखि सरकारसँग न्यायको भिख माग्दै हिँडेका बलात्कार पछि हत्या गरिएकी स्वर्गीय निर्मला पन्तको बुबाले एकाएक मानसिक सन्तुलन गुमाएको भिडियो सामाजिक सञ्जालहरूमा भाईरल भयसँगै मेरो मन मस्तिष्क पनि विक्षिप्त बन्न पुगेको छ। भलै मेरो व्यक्तिगत तर्फबाट मृतक निर्मलाको परिवारलाई केही गर्न नसके पनि केही शब्द कोर्ने जमर्को गरेको छु।विशेषतः: नेपाल सरकारलाई नै लक्षित गरी लेखिएका शब्दहरूले सम्बन्धित निकायमा ध्यानाकर्षण होस भन्न चाहन्छु।

श्रावण १० गते आफ्नै साथीको घरबाट हराएकी कञ्चनपुरकी निर्मलाको बलात्कार पछि हत्या भएको कुरा सुनिन थालेको पनि ४ महिना बिती सकेको छ।यस घटनामा दोषी को हो भन्ने कुरा सरकारले पत्ता लगाउनुको साट्टो मानसिक सन्तुलन गुमाएका दिलीप विष्ट देखि निर्दोष महिला पुरुषलाई मानसिक एवं शारीरिक यातना दिने कार्य गर्ने गराउने गरियो भने बम दिदीबहिनीको घरबाट हराएकी कुरा जानकारी हुँदा हुँदै पनि सरकारी पक्षबाट बम दिदी बहिनीलाई साधारण सोधपुछमा सीमित राख्नु दुर्भाग्य पूर्ण कुरा हो।

एसपी डिल्लीराज विष्टले आफू कञ्चनपुर रहँदा खेलेका प्राय सबै भूमिका र काम कार्बाही शङ्का स्पट भएको थाहा हुँदा हुँदै सरकारले केवल जागिरबाट बर्खास्त गरेर घटनालाई पन्छाउने कोसिस गरेको छ।

विश्वमै राम्रो श्रेणीमा रहेको नेपाल प्रहरीको काम कार्बाही नै शङ्का स्पट भई रहेको अवस्थामा जनस्तरबाट आवाज उठ्नु स्वाभाविकै हो।गृहमन्त्रालयको बागडोर समालेका मन्त्री राम बहादुर थापा बादलले सही र चुस्त तवरबाट घटना माथि नजर लगाउन नसक्नु र दोषी को हो भन्ने बारे राज्यको संयन्त्र प्रयोगमा ल्याउन नसक्नु दुखद कुरा हो।कम्युनिस्टको २ तिहाइ सरकार भएको देशमा जनताले न्याय नपाउनु दुर्भाग्य पूर्ण कुरा हो।

प्रम केपी ओलीले यस घटनाका विषयमा छानबिन र सत्य तथ्य बाहिर आउन १२ वर्ष पनि लाग्न सक्छ भन्ने कुरा सार्वजनिक स्तरमा बोली दिनुले पनि सरकार पक्षबाट न्याय पाउला भन्ने आस मरी सकेको अवस्थामा विक्षिप्त बन्दै निर्मलाका बाबुले मानसिक सन्तुलन गुमाए।पन्त परिवारमा छोरीको हत्या भई सके पछि आज पुरै परिवारको अवस्था यसरी गुज्रिनुमा नेपाल सरकारले जिम्मा लिनु पर्ने होइन र ? सम्माननीय प्रम ओली ज्यू तपाईँ एक पटक निर्मलाको बाबु बनेर सोची दिनु होस्।के अब निर्मलाको परिवारले न्याय नपाउने नै हो त ?

जसरी नेपाल सरकारले छोरा कृष्ण प्रसादको हत्या माओवादीले गरे पछि न्यायका लागि लड्दै आएका बाबु नन्द प्रसाद र आमा गङ्गामायालाई न्याय दिन सकेन त्यसरी नै निर्मलाका परिवारलाई पनि न्याय दिन सक्दैन भन्ने अनुमान गर्न सकिन्छ।नन्द प्रसाद वीर अस्पतालको सैयामा अस्ताए भने यता निर्मलाको बाबु छोरीको वियोग र न्याय नपाउँदा पागल बन्न पुगेका छन्।के देशका जनता प्रति सरकारको उत्तर दायित्व यही हो ?

मलाई नेपाल सरकारसँग सोध्न मन लागेको कुरा ३३ किलो सुन खै ? निर्मलाको हत्यारा खोइ ? देशमा सुशासन खै ? करोडौँ अर्बौँ भ्रष्ट्राचार गर्ने भ्रष्ट्राचारीहरूलाई कार्बाही खोइ ? वाइड बडी जहाजको के हो वास्तविकता यसको छानबिन खोइ ? बिहान बिहानै बालाजु देखि कलङ्की सम्म जाँदा बस भित्र लुटपाट हुन्छ भने यस्तो अवस्थामा सुरक्षा खोइ ? राजधानीमा त सुरक्षा छैन भने दूर दराजमा कसरी सुरक्षाको अनुभूति गर्ने ? यस्ता अनगिन्ती प्रश्नहरू मेरो मनमा मात्र होइन करोडौँ जनताको मन मस्तिष्कमा रहेको छ।तसर्थ नेपाल सरकारले आफ्नो देश र जनताको हितका लागि काम गर्न नसक्नु दुर्भाग्य हो।

कर्ण अधिकारी/हिमाल पोष्ट‍

Similiar Post